Bhairahawa Khabar

November 2025

खेलकुद

एनपीएल सिजन २ : मार्क वाटले हाने पहिलो शतक

काठमाडौँ — नेपाल प्रिमियर लिग सिजन २ मा कर्णाली याक्सका ओपनर मार्क वाटले पहिलो शतक प्रहार गरेका छन् । लुम्बिनी लायन्सविरुद्ध १५७ रनको लक्ष्य पछ्याउने क्रममा वाटले कर्णालीका लागि शतक प्रहार गरे । उनले ४१ बलमा १० छक्का र ६ चौकाको सहयोगमा शतक पूरा गरे । जारी सिजनमा हालसम्म एकै खेलमा धेरै रन पनि कर्णाली याक्सकै खेलाडी प्रियांक पाञ्चालको नाममा थियो । उनले पहिलो खेलमा चितवन राइनोजविरुद्ध ९० रन प्रहार गरेका थिए । पहिलो खेलमा खासै नचलेका वाटले दोस्रो खेलमा उत्कृष्ट कमब्याक गर्दै आक्रामक ब्याटिङ गरेका छन् ।

खेलकुद

आर्मीका खड्कालाई नेपालगन्ज म्याराथनको उपाधि

नेपालगन्ज — त्रिभुवन आर्मी क्लबका खडकबहादुर खड्काले ११औं नेपालगन्ज म्याराथनको उपाधि जितेका छन् । उनले लगातार दोस्रो र समग्रमा तेस्रो पटक यो उपाधि जितेका हुन्। शनिबार भएको प्रतिस्पर्धामा महिला हाफ म्याराथनमा त्रिभुवन आर्मी क्लबकी पूर्णलक्ष्मी न्यौपानेले पहिलो स्थान हासिल गरिन्। खड्काले नगद दुई लाख, पदक, प्रमाणपत्र र ट्रफी पाउनेछन् । न्यौपानले भने नगद ७५ हजार, पदक, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछिन् । पुरुष खुल्ला म्याराथन (४२.१९५ किमि) तर्फ दोस्रो हुनेलाई एक लाख, तेस्रोलाई ३० हजार, चौथोलाई २५ हजार, पाँचौंलाई १५ हजार, छैटौंलाई १० हजार नगदले पुरस्कृत गरिनेछ ।

खेलकुद

आठौं मन्थली नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि मन्थली माविलाई

रामेछाप — आठौं मन्थली नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड–२०८२ को उपाधि मन्थली माध्यमिक विद्यालयले जितेको छ ।  मन्थली नगर खेलकुद विकास समितिको आयोजनामा मंसिर ४ देखि ६ गतेसम्म मन्थली माविको खेलमैदानमा सम्पन्न प्रतियोगितामा ३४ स्वर्ण, २९ रजत र १७ कांस्यसहित जम्मा ८० पदक जित्दै मन्थली मावि उत्कृष्ट विद्यालयका रूपमा उभिएको हो । त्यसैगरी, ११ स्वर्ण, १४ रजत र १६ कांस्यसहित ४१ पदक जित्न सफल तामाकोशी इङ्ग्लिस बोर्डिङ स्कुल मन्थली दोस्रो स्थानमा रह्यो । ७ स्वर्ण, ३ रजत र ६ कांस्यसहित १६ पदक हात पारेको कर्कलादेवी इङ्ग्लिस बोर्डिङ स्कुल मन्थली तेस्रो बन्यो । विजेता मन्थली माविले नगद ४० हजारसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो । दोस्रो तामाकोशी बोर्डिङ स्कुलले २५ हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र हात पार्‍यो भने तेस्रो कर्कलादेवी बोर्डिङ स्कुलले १५ हजार रुपैयाँसहित शिल्ड, ट्रफी र मेडल प्राप्त गर्‍यो । ४ स्वर्ण, ७ रजत र ५ कांस्यसहित १६ पदक जितेको निलकण्ठेश्वर मावि कठजोरले नगद ५ हजारसहित सान्त्वना पुरस्कारमा चित्त बुझायो । ३ स्वर्ण, ५ रजत र ६ कांस्यसहित १४ पदक हात पारेको भैरवी मावि सुनारपानी पाँचौँ स्थानमा रह्यो ।

खेलकुद

विराटनगरविरुद्ध काठमाडौंको कमजोर ब्याटिङ

काठमाडौँ — काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शनिबारको दोस्रो खेलमा कमजोर ब्याटिङ गर्दै विराटनगर किंग्सलाई १ सय ३५ रनको मात्र लक्ष्य दिएको छ । टस हारेपछि ब्याटिङको निम्तो पाएको काठमान्डुले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशाला कीर्तिपुरमा निर्धारित २० ओभर खेली ६ विकेट गुमाई १ सय ३४ रनमात्र बनाउन सक्यो । काठमान्डुबाट आदिल अलाम अन्सारीले अविजित ४८ रन बनाए । उनले २५ बलको सामना गर्दै ४ चौका र २ छक्का प्रहार गरे । जसको कारण काठमान्डुले अन्तिम ५ ओभरमा १ विकेट गुमाई ६३ रन जोडेर हेर्न लायक स्कोर बनाउन सकेको थियो । पावर प्लेको पहिलो ६ ओभरमा काठमान्डुले ३ विकेट गुमाई २२ रनमात्र बनाउन सकेको थियो । टोलीले केवल ६ चौका र ५ छक्का प्रहार गर्न सकेको थियो ।

खेलकुद

साँवा थलङमा चासोक तङनाम खुला फुटबल हुँदै

ताप्लेजुङ — लिम्बू समुदायको प्रमुख पर्व चासोक तङनामको अवसरमा मंसिर १८ गतेदेखि मिक्वाखोला गाउँपालिका ४ साँवामा खुला फुटबल प्रतियोगिता आयोजना गरिएको छ । थलङ स्पोर्टिङ क्लबको आयोजनामा हुने प्रतियोगितामा विजेताले १ लाख ५२ हजार र उपविजेताले १ लाख रुपैयाँ पुरस्कार पाउने क्लबका अध्यक्ष मणिकुमार थलङले जानकारी दिए । विधागत पुरस्कारतर्फ बेस्ट किपर, बेस्ट डिफेन्डर, बेस्ट प्लेयर, हाइ स्कोररले पाँच हजारका दरले पुरस्कार पाउने छन् । हरेक खेलका म्यान अफ द म्याचलाई दुई हजारका दरले पुरस्कार दिइने छ । जिल्लाको पर्यटकीय स्थल फुङफुङेको प्रचारका लागि र चासोक तङनाम पर्वको प्रवर्द्धनका लागि प्रतियोगिता आयोजना गरिएको क्लबले जनाएको छ । गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की, राष्ट्रिय रेफ्री तथा खेल संयोजक विके थलङ सहितको उपस्थितिमा शनिबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको जानकारी गराइएको हो ।

खेलकुद

सन्तोषी र राजन गरिमा रोड रेस च्याम्पियन

काठमाडौँ — ओलम्पियन धाविका धादिङकी सन्तोषी श्रेष्ठ र आर्मीका धावक राजन रोकायाले शनिबार दोस्रो गरिमा रोड रेसमा उपाधि जितेका छन् । रेस १० किलोमिटर दूरीमा भएको थियो ।  ओलम्पियन धाविका सन्तोषीले निर्धारित दूरी ३४ मिनेट ५४.४ सेकेन्डमा पार गरिन् । पहिलो संस्करणमा पनि सन्तोषी विजेता भएकी थिइन् । ३५ मिनेट १५.३ सेकेन्डमा आर्मीकी निशा मजाकोटी दोस्रो र ३६ मिनेट २१.३ सेकेन्डमा आर्मीकै सिर्जना पाण्ड्ये तेस्रो भए । आर्मीकी निर्मला केसी चौथो र एपीएफकी आशा रावत पाँचौं स्थानमा रहे । राजनले निर्धारित दूरी २९ मिनेट १२.१२ सेकेन्डमा पूरा गरे । गत संस्करणका विजेता आर्मीकै मुकेशबहादुर पाल २९ मिनेट ५०.९२ सेकेन्डसहित दोस्रो भए । आर्मीकै सञ्जय श्रेष्ठले ३० मिनेट ०५.०० सेकेन्डमा तेस्रो स्थानमा हात पारे । आर्मीका गणेशसिंह रावत र नरेन्द्रसिंह रावत क्रमशः चौथो र पाँचौं भए । दुवैतर्फ शीर्ष ५ स्थान हात पार्नेले क्रमशः ५० हजार, ३५ हजार, २० हजार, १५ हजार र १० हजार रुपैयाँ पुरस्कार पाए ।

मनोरञ्जन

विधायन व्यवस्थापन समितिमा उठ्यो सेन्सरदेखि विकास बोर्ड लचिलो बनाउने मुद्दा

काठमाडौँ — ‘चलचित्र विधेयक २०८१’माथि संशोधन गर्नुपर्ने विषय विधायन व्यवस्थापन समितिमा उठेको छ । बुधबार सरकार र सांसदबीच बसेको सैद्धान्तिक छलफलमा सेन्सर, विकास बोर्डदेखि फिल्मसँग सम्बन्धित थुप्रै विषयमा संशोधन आवश्यक भएको विषय उठेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले विधेयक १० प्रतिशतले पनि समय सापेक्ष नभएको बताएसँगै बैठकमा उपस्थित अधिकांशले सांसदले विधेयक संशोधनको विषय उठाएका हुन् । बेदुराम भूसालले जुन उद्देश्यले विधेयक ल्याइएको हो त्यो पूरा नहुने हुँदा संशोधन आवश्यक रहेको बताए । ‘सैद्धान्तिक रुपले हेर्दा यो विधेयक जुन उदेश्यले ल्याइएको हो त्यो उदेश्य पूरा गर्नका निम्ति पर्याप्त छैन,’उनले भने,’त्यसैले यसलाई कसरी परिमार्जन गर्न सकिन्छ भन्ने हो । ५३ दफाको विधेयकमा १ सय ९९ वटा संशोधन छ ।’ राजेन्द्रलक्ष्मी गैरेले संशोधनका लागि गहिरो छलफल र सम्बन्धित विषयमा विज्ञता नै हासिल गरेको हुनुपर्ने धारणा राखिन् । ‘जति संशोधन हामीले यहाँ ल्याएका छौं । त्यही शब्दहरु पनि मिलेको छ कि छैन भनेर संशोधनमा केन्द्रित हुनुपर्छ,’ उनले भनिन् । मदनकुमारी शाहले फिल्म क्षेत्रलाई उद्योगका रुपमा विकास गर्न आवश्यक नीति नै आफूहरुले बनाउनुपर्ने विचार राखिन् । ‘चाहे त्यो फिल्म होस्, पर्यटन होस्, हामी हरेक क्षेत्रलाई उद्योगका रुपमा विकास गर्न चाहन्छौं । त्यसैले नीति बनाउँदा कसरी उद्योगको रुपमा विकास गर्न सक्छौं भन्ने कुरा ध्यानमा राखेर विधेयकलाई अगाडि बढाउनुपर्छ,’ उनले भनिन् । अहिलेको विधेयकले प्रविधि, विकास र उद्योगका सवाल नसमेटिएकै कारण दफावार छलफल गरेर त्यसलाई समृद्ध बनाउनुपर्ने शाहको विचार छ । कृष्णबहादुर रोकायाले विसं २०२६ मा बनेको चलचित्र ऐनलाई समय सापेक्ष बनाउन यो विधेयक ल्याइएको बताए । अहिलेको विधेयकमा आदिवासी, जनजाति र विभिन्न मातृभाषी फिल्मका सवाल नजोडिएको रोकायाले तर्क प्रस्तुत गरे । कानुन यथास्थितिवादी भए पनि फिल्म क्षेत्र उद्योगको रुपमा विकास भइसकेको अर्का सांसद सुरेशकुमार आलेमगरले जनाए । उनले नेपाललाई छायांकन स्थलका रुपमा विकास गर्नुपर्ने तर्क पेस गरे । ‘हाम्रो देशको भूभागलाई विदेशी फिल्म छायांकन गर्ने स्थलका रुपमा विकास गर्नुपर्छ । नेपालको फिल्म उद्योग ४ करोडको होला । तर, नेपालको सौन्दर्यलाई छायांकनका लागि प्रयोग गर्न सक्छौं । यो विधेयकले त्य

मनोरञ्जन

पुराना दलका कलाकार : कोही चुनाव लड्दै, कोही चुपचाप

काठमाडौँ — कलाकार र राजनीतिक दलको साइनो पुरानै हो । के नयाँ, के पुराना, धेरैजसो कलाकार कुनै न कुनै दलको छातामुनि पुगेकै छन् । जेन-जी विद्रोहपछिको परिदृश्यमा पनि दलको छातामुनि नपुगेका बाँकी कलाकार पनि धमाधम नयाँ दल प्रवेशमा लागेका छन् । कलाकारहरू किन दलको छातामुनि पुग्छन् ? के उनीहरूको राजनीतिक सक्रियताले कला क्षेत्रलाई फरक पार्छ ? राजनीतिक दलहरू गम्भीर प्रश्न र आत्मसमीक्षाको चौबाटोमा उभिरहेका बेला दलमा लागेका कलाकारहरू दलगत सुधारका विषयमा के भन्छन् त ? हामीले यही विषयमा विमर्श गर्न नेपाली कांग्रेसमार्फत राजनीतिमा सक्रिय मीनबहादुर भाम र राप्रपामा सक्रिय रेखा थापा र एमाले राजनीतिमा सक्रिय कोमल वलीसँग कुराकानी गरेका छौं ।

मनोरञ्जन

एनपीएलमा कलाकारहरूको उत्साह

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण खेलकूदप्रेमीका लागि त उत्सव नै हुने भइगयो । यो रोचक प्रतिस्पर्धामा कैयन कलाकारहरु पनि आ-आफ्नो पक्षधरता देखाइरहेका छन् । गायिका रचना रिमाल भने एनपीएलको सुरुवातदेखि नै उत्साहित देखिएकी छिन् । झापा मुल घर भएकी उनी विराटनगर किङ्सको समर्थनमा खुलेरै लागेकी छिन् । कहिले विराटनगर किङ्सको जर्सी लगाएर समर्थन गरिरहेकी छन् त कहिले झन्डा फहराउँदै उनले खेलमा आफ्नाे रुची झल्काइरहेकी छिन् । गायिका एलिना चौहानको पनि समर्थन विराटनगर किङ्सलाई नै छ। झापा घर भएकाले पनि एलिनाको समर्थन आफ्नै प्रदेशको टिमलाइ नहुने कुरै भएन् । सामाजिक संजालमा उनी विराटनगर किङ्सको समर्थनमा खुलेकी छिन् । क्रिकेट रुचाउने कलाकार कुमार कट्टेल पनि सामाजिक सन्जाल फेसबुकमा पहेंलो रङको जर्सी लगाएको देखिएका थिए । उनले सामाजिक सञ्जाल प्रयोगकर्तालाई सोधेका थिए, ‘एनपिएलमा यसपालि तपाईं कुन टिमलाई सपोर्ट गर्दै हुनुहुन्छ ?’

Scroll to Top