समाचार

परासी सूचना तथा सञ्चार सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न

Loading

  परासी । परासी सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा शनिबार परासीमा सम्पन्न भएको छ। “शिक्षा, सूचना र मनोरञ्जनको विकासका लागि सामुदायिक रेडियो परासी” भन्ने मूल नाराका साथ साधारण सभा आयोजना गरिएको हो। सहकारीले २०६५ सालदेखि सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्ज सञ्चालन गर्दै आएको छ। साधारण सभा सहकारीका अध्यक्ष राजकुमार रेश्मीको अध्यक्षता तथा पूर्व स्वास्थ्य मन्त्री हृदेश त्रिपाठीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि त्रिपाठीले सामुदायिक रेडियो परासीले नवलपरासी र आसपासका क्षेत्रमा सूचना तथा सञ्चारको क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो। कार्यक्रममा पूर्वगृह राज्यमन्त्री देवेन्द्रराज कण्डेलले सामुदायिक रेडियो परासी यस क्षेत्रको अग्रणी सञ्चार माध्यम भएको उल्लेख गर्दै समावेशी आवाजलाई प्राथमिकता दिँदै निरन्तर प्रसारणमा जोड दिनुपर्ने बताउनुभयो। यस्तै संविधान सभा सदस्य अलाउँदिन अन्सारीले समुदाय स्तरमा सहकार्य र सहअस्तित्व विकासमा रेडियोको भूमिका प्रशंसनीय रहेको बताउनुभयो। साधारण सभामा संगठनात्मक, लेखा तथा लेखा सुपरिवेक्षण समितिका प्रतिवेदनहरू प्रस्तुत भई सर्वसम्मत पारित गरिएको थियो। यस अवसरमा अध्यक्ष रेश्मीले स्वर्गीय धर्मपत्नी कमला रेश्मीको नाममा एक लाख रुपैयाँको स्मृति कोष स्थापना गर्ने घोषणा गर्नुभयो।