Bhairahawa Khabar

June 2026

मनोरञ्जन, समाचार

भैरहवामा सिनेमा संस्कृतिको नयाँ अध्याय : INI Cinemas ले खोल्यो अन्तर्राष्ट्रिय अनुभवको ढोका

Loading

भैरहवा । शहर विस्तार हुँदै जाँदा केवल भवन र सडक मात्र होइन, जीवनशैली पनि बदलिन्छ। भैरहवामा अहिले त्यही परिवर्तन स्पष्ट देखिन थालेको छ—जहाँ किनमेल, खानपान र व्यापारसँगै मनोरञ्जनको स्तर पनि नयाँ उचाइमा पुगेको छ। यही परिवर्तनको पछिल्लो उदाहरण बनेको छ सिद्धार्थनगर नगरपालिका–७ स्थित भाटभटेनी सुपरमार्केटको पाँचौं तल्लामा सञ्चालनमा आएको अत्याधुनिक INI Cinemas मल्टिप्लेक्स। बाहिरबाट हेर्दा व्यस्त व्यापारिक भवन, तर भित्र प्रवेश गर्दा भने त्यो स्थान एउटा पूर्ण मनोरञ्जन संसारमा रूपान्तरण हुन्छ। सोमबार एक विशेष समारोहका बीच सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इस्तियाक अहमद खानले सिनेमाहलको औपचारिक उद्घाटन गरेसँगै भैरहवाको सिनेमा यात्राले नयाँ मोड लिएको छ। लोत्से इन्टरटेन्मेन्ट प्रा.लि.को लगानी र INI Cinemas को व्यवस्थापनमा निर्माण गरिएको यस मल्टिप्लेक्सले अब दर्शकलाई केवल चलचित्र मात्र होइन, अनुभव दिने दाबी गरेको छ। दुई वटा हलमा १९८/१९८ सिट क्षमता सहित निर्माण गरिएको यो संरचना आधुनिक प्रविधि, उच्च गुणस्तरको साउण्ड सिस्टम र आरामदायी वातावरणले सजिएको छ। कार्यक्रममा उपस्थित दर्शक तथा अतिथिहरूले यसलाई “भैरहवाको लागि नयाँ युगको सुरुवात” भन्दै स्वागत गरेका थिए। चलचित्र केवल मनोरञ्जन होइन, अनुभव हो भन्ने सोचलाई केन्द्रमा राखेर डिजाइन गरिएको यो हलले राजधानी वा ठूला शहरमा मात्र उपलब्ध हुने सुविधा अब स्थानीय दर्शकसम्म पुर्‍याउने अपेक्षा गरिएको छ। यस परियोजनाको केन्द्रमा एउटा युवा उद्यमशीलताको कथा पनि लुकेको छ। INI Cinemas का निर्देशक आभास कुँवरले आफ्नो सम्बोधनमा नेपालमै सम्भावना खोज्ने दृढ इच्छाले आफूहरू यस यात्रामा अघि बढेको बताए। विदेशमा अध्ययन र अनुभव हासिल गरेपछि स्वदेशमै केही नयाँ गर्ने उद्देश्यसहित उनले चलचित्र व्यवसायलाई रोजेका हुन्। “हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने,” भन्ने सोचले आफूहरूलाई निरन्तर अघि बढाइरहेको बताउँदै उनले लोत्से मलबाट सुरु भएको यात्रा आज भैरहवासम्म आइपुगेको उल्लेख गरे। उनका अनुसार भैरहवा व्यापार, पर्यटन र पूर्वाधारका दृष्टिले भविष्यको अत्यन्त सम्भावनायुक्त शहर भएकाले यहाँ विस्तार गरिएको हो। त्यस अवसरमा आभास कुँवरका पिता दीपक कुँवरले पनि नेपाली युवाले आफ्नै देशमा केही गर्न चाहेको खण्डमा अवसर दिनुपर्ने आवश्यकता औंल्याउँदै भाटभटेनीका संस्थापकप्रति आभार व्यक्त गरे। स्थानीय सहयोग र विश्वासले मात्र यस्ता परियोजना सफल हुने उनको भनाइ थियो। नगर प्रमुख इस्तियाक अहमद खानले भैरहवामा आधुनिक मनोरञ्जन पूर्वाधार थपिनु शहर विकासको सकारात्मक संकेत भएको बताए। उनका अनुसार यस्ता लगानीले केवल मनोरञ्जन मात्र होइन, स्थानीय अर्थतन्त्र र सांस्कृतिक जीवनलाई पनि चलायमान बनाउँछ। अब भैरहवामा चलचित्र हेर्नु केवल समय बिताउने माध्यम मात्र नभई एउटा आधुनिक अनुभव बनेको छ। चम्किला पर्दा, गहिरो ध्वनि र आरामदायी सिटबीच दर्शकहरू अब आफ्नै शहरमै विश्वस्तरीय सिनेमा अनुभव गर्न पाउनेछन्। यसले भैरहवाको मनोरञ्जन संस्कृतिमा नयाँ स्वाद थपेको छ—जहाँ चलचित्र अब केवल पर्दामा होइन, अनुभवमा बाँचिन्छ।

अर्थ, समाचार

भैरहवामा १ अर्ब १२ करोडको ‘होटल स्वीट पूर्णिमा’ निर्माणाधीन, लर्ड्स प्लाजासँग व्यवस्थापन सम्झौता

Loading

भैरहवा । सिद्धार्थनगर नगरपालिका–४, लुम्बिनी रोडस्थित होटल समृद्धिमा बुधबार आयोजित एक कार्यक्रमबीच निर्माणाधीन ‘होटल स्वीट पूर्णिमा’ को व्यवस्थापनका लागि होटल स्वीट पूर्णिमा प्रालि र लर्ड्स प्लाजाबीच औपचारिक सम्झौता भएको छ। सम्झौतापत्रमा होटल स्वीट पूर्णिमा प्रालिका सञ्चालक रामबहादुर थापा तथा लर्ड्स प्लाजाका सहायक उपाध्यक्ष शैलेश नरेन्द्र टेरीले हस्ताक्षर गरेका छन्। कार्यक्रममा शेयर सदस्य वासु बराल, एनएमबी बैंकका एरिया म्यानेजर प्रभात सिंह खाती, शाखा प्रबन्धक नवीनराज पाण्डेलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। करिब ८० हजार वर्गफिट क्षेत्रफलमा निर्माणाधीन होटल स्वीट पूर्णिमामा ९० वटा सुविधा सम्पन्न कोठा, १५ हजार वर्गफिट क्षेत्रफलमा आधुनिक क्यासिनो तथा दुई हजारभन्दा बढी व्यक्तिको सहभागिता रहने विवाह, सम्मेलन र अन्य ठूला कार्यक्रम सञ्चालन गर्न मिल्ने अत्याधुनिक बैंक्वेट हल निर्माण गरिने भएको छ। होटलका फाइनान्सियल कन्सल्टेन्ट केशव बस्यालका अनुसार परियोजनाको कुल लगानी करिब १ अर्ब १२ करोड रुपैयाँ रहनेछ। होटल व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी लर्ड्स प्लाजाले सम्हाल्ने गरी सम्झौता गरिएको हो। निर्माण तथा आवश्यक तयारीका काम तीव्र गतिमा अघि बढिरहेको उल्लेख गर्दै सञ्चालक रामबहादुर थापाले सन् २०२७ को जुन महिनासम्म होटल सञ्चालनमा ल्याउने लक्ष्य रहेको जानकारी दिए। लर्ड्स इन होटल एण्ड रिसोर्ट प्रालिका उपाध्यक्ष शैलेश नरेन्द्र टेरीले होटल सञ्चालनपछि आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न, स्थानीय पर्यटन उद्योगलाई थप सशक्त बनाउन तथा युवायुवतीका लागि रोजगारीका अवसर सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। कार्यक्रमका वक्ताहरूले होटल स्वीट पूर्णिमालाई रुपन्देहीको पर्यटन तथा आतिथ्य क्षेत्रको एक महत्वाकांक्षी परियोजनाका रूपमा चित्रण गर्दै यसको सञ्चालनपछि क्षेत्रीय पर्यटन प्रवर्द्धन, आर्थिक गतिविधिमा वृद्धि तथा स्थानीय स्तरमा रोजगारी सिर्जनामा उल्लेखनीय योगदान पुग्ने अपेक्षा व्यक्त गरेका थिए। होटल सञ्चालनमा आएपछि भैरहवा तथा आसपासका क्षेत्रको पर्यटन र आतिथ्य व्यवसायले नयाँ गति लिने विश्वास समेत व्यक्त गरिएको छ।

Scroll to Top