Bhairahawa Khabar

February 2026

राजनीति, समाचार

घिमिरेको प्रतिबद्धता सार्वजनिक

भैरहवा । नेकपा एमाले रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका प्रत्यक्षतर्फका उम्मेदवार बासुदेव घिमिरेले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। मङ्गलबार सिद्धार्थनगर–८ स्थित सनस्टार होटलमा आयोजित कार्यक्रममा उनले क्षेत्रको समग्र विकासलाई केन्द्रमा राख्दै आफ्ना प्राथमिकता र योजनाहरू सार्वजनिक गरेका हुन्। प्रतिबद्धता पत्र सार्वजनिक गर्दै उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा दिगो रूपमा सञ्चालनमा ल्याउने, सडक पूर्वाधारको स्तरोन्नति गर्ने तथा सामुदायिक विद्यालय र क्याम्पसहरूको भौतिक तथा शैक्षिक गुणस्तर सुधार गर्ने मुख्य लक्ष्य रहेको बताएका छन्। शिक्षा, पूर्वाधार र आर्थिक गतिविधिलाई जोड्दै क्षेत्रको विकासलाई तीव्रता दिने उनको भनाइ थियो। त्यसैगरी सरकारी स्वास्थ्य संस्थाहरूको प्रभावकारिता अभिवृद्धि गर्ने, भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या दीगो रूपमा समाधान गर्ने तथा पछाडि परेका वर्ग तथा समुदायलाई उत्थान गरी मूलप्रवाहीकरण गर्ने योजना पनि उनले अघि सारे। सामाजिक न्याय र समावेशी विकासलाई प्राथमिकतामा राख्दै नीति निर्माण गर्ने प्रतिबद्धता उनले व्यक्त गरे। किसानको हितलाई प्राथमिकतामा राख्दै उनले समयमै मलखाद, बिउबिजन, प्राविधिक परामर्श तथा सिँचाइ सुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाए। कृषि क्षेत्रलाई आधुनिक र व्यावसायिक बनाउँदै रोजगारी सिर्जना गर्ने तथा समग्र क्षेत्रको सन्तुलित र समन्यायिक विकास सुनिश्चित गर्ने लक्ष्य उनले राखेका छन्। उम्मेदवार घिमिरेले उम्मेदवारी घोषणा गरेयता जनताबाट प्राप्त सुझाव, भेटघाट र सहभागिता दिनानुदिन बढ्दै गएको उल्लेख गर्दै नेकपा एमाले रुपन्देही क्षेत्र नम्बर ३ मा भारी मतसहित विजयी हुने विश्वास व्यक्त गरे। जनताको आवश्यकतालाई केन्द्रमा राखेर जनमैत्री कानुन निर्माणमा सधैं सक्रिय रहने दृढता व्यक्त गर्दै उनले सिद्धार्थनगरसहित समग्र क्षेत्रको समृद्धिका लागि निरन्तर क्रियाशील रहने बताएका छन्।

राजनीति, समाचार

मर्चवारको विकासका लागि अहोरात्र खटिने प्रतिबद्धता : प्रमोद यादव

भैरहवा । रुपन्देही क्षेत्र नम्बर–४ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रमोद कुमार यादवले मर्चवार क्षेत्रको समग्र विकासका लागि अहोरात्र खटिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। नेकपा (एमाले) को तर्फबाट उम्मेदवार रहनुभएका यादवले २५ बुँदे स्थानीय प्रतिबद्धता सार्वजनिक गर्दै मर्चवारलाई विकासको नयाँ दिशामा लैजाने योजना प्रस्तुत गर्नुभएको हो। मंगलबार सोही क्षेत्रको गुरवनियामा आयोजित पत्रकार सम्मेलनमा उम्मेदवार यादवले आफू पछिल्ला अढाई दशकदेखि मर्चवारको विकास र जनताको सरोकारका विषयमा निरन्तर सक्रिय रहँदै आएको उल्लेख गर्नुभयो। उहाँले विगतको अनुभव, जनतासँगको सम्बन्ध र स्पष्ट कार्ययोजनाका आधारमा मर्चवारको मुहार फेर्ने दाबी गर्नुभयो। कार्यक्रममा नेकपा एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले रुपन्देही क्षेत्र नम्बर–४ मा एमाले विजयी हुने बलिया आधारहरू रहेको बताउनुभयो। उहाँले उम्मेदवारको सक्रियता, जनतासँगको नजिकको सम्बन्ध, प्रतिबद्ध मतदाता र एमालेले विगतमा गरेका विकासका कामका कारण यस क्षेत्रमा एमालेप्रति जनविश्वास रहेको धारणा राख्नुभयो। पत्रकार सम्मेलनमा एमाले उपाध्यक्ष हितराज पन्थी, उपसचिव सुनिता ठटेर, समरीमाई गाउँपालिकाका पूर्व अध्यक्ष बब्लु शुक्ला, रोहिणी गाउँपालिकाका पूर्व अध्यक्ष सनोज कुमार यादव, एमाले नेता लाला लोध, कृष्ण भुसाल, कमलेश यादव लगायतले मर्चवारको दिगो विकासका लागि सबैको साझा प्रयास आवश्यक रहेकोमा जोड दिनुभयो। एमाले निर्वाचन प्रचार डेस्क क्षेत्र नम्बर–४ का सदस्य विजय यादवको अध्यक्षता तथा अग्रज पत्रकार राजकुमार धवलको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष आरपी आचार्य, रुपन्देही अध्यक्ष दिनेश पाण्डे, लुम्बिनी प्रेस क्लबका उपाध्यक्ष दिपेन्द्र बडुवाल, प्रेस चौतारीका केन्द्रीय सदस्यद्वय अमृत गिरी र लक्ष्मण पौडेल, जिल्ला अध्यक्ष भगवती पाण्डे, संसदीय मामिला पत्रकार मञ्च लुम्बिनीका अध्यक्ष घनश्याम गौतम लगायत विभिन्न सञ्चारकर्मी तथा पत्रकार सम्बद्ध संघसंस्थाका प्रमुखहरूको उपस्थिति रहेको थियो।

Scroll to Top