Bhairahawa Khabar

May 2026

खेलकुद, समाचार

योङ्ग ब्वाइज एफसी देवदह च्याम्पियन: ३१औं माछापुछ्रे कप २०८३ को उपाधि २–१ गोल अन्तर

भैरहवा । सिद्धार्थनगर नगरपालिका–२ स्थित पक्लिहवा कृषि क्याम्पसको खेलमैदानमा माछापुच्छ्रे क्लब को आयोजनामा सञ्चालित ३१औं माछापुछ्रे कप २०८३ अन्तर्गत जेष्ठ १२ गते सम्पन्न फाइनल खेलमा योङ्ग ब्वाइज एफसी, देवदह विजयी हुँदै च्याम्पियन बनेको छ । रोमाञ्चक प्रतिस्पर्धामा योङ्ग ब्वाइज एफसी, देवदहले देवदह ब्वाइज एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । खेल सुरु भएको केही मिनेटमै आक्रामक प्रदर्शन गरेको योङ्ग ब्वाइज एफसीका जर्सी नं. २५ का बिन्देले खेलको ६औं मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसलगत्तै जर्सी नं. १९ का मुकुन्द निउरेले ७औं मिनेटमा अर्को गोल थप्दै टोलीलाई बलियो अवस्थामा पुर्‍याए । पहिलो हाफभर दुवै टोलीबीच प्रतिस्पर्धात्मक खेल देखिएको थियो । दोस्रो हाफको १२औं मिनेटमा देवदह ब्वाइज एफसीका जर्सी नं. ३ का आशिष पुनले एक गोल फर्काउँदै खेलमा फर्कने प्रयास गरे पनि थप गोल हुन नसक्दा योङ्ग ब्वाइज एफसी विजयी बन्न सफल भयो । खेलको ३५औं मिनेटमा देवदह ब्वाइज एफसीका जर्सी नं. ५ का सुजीत चौधरीले रातो कार्ड पाएपछि टोली दबाबमा परेको थियो । खेलको मध्य विश्राममा सांस्कृतिक नृत्य प्रस्तुत गरी दर्शकलाई मनोरञ्जनसमेत प्रदान गरिएको थियो । प्रतियोगिताको विजेता योङ्ग ब्वाइज एफसी, देवदहले नगद रु. २ लाख ५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता देवदह ब्वाइज एफसीले नगद रु. १ लाख ५ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । व्यक्तिगत विधातर्फ देवदह ब्वाइज एफसीका रोजर दाहाल ‘बेस्ट मिडफिल्डर’ घोषित हुँदै रु. ४ हजार ५ प्राप्त गर्न सफल भए । योङ्ग ब्वाइज एफसीका मुकुन्द निउरे दैनिक उत्कृष्ट खेलाडी तथा ‘बेस्ट फरवार्ड’ घोषित भए । उनले क्रमशः नगद रु. १ हजार ५ सय ५ र रु. ४ हजार ५ प्राप्त गरे । त्यसैगरी, योङ्ग ब्वाइज एफसीका कुमार गुरुङ ‘बेस्ट गोलकिपर’ घोषित भए भने देवदह ब्वाइज एफसीका अनीकेत इडियाले ‘बेस्ट डिफेन्डर’ अवार्ड प्राप्त गरे । प्रतियोगिताको ‘सर्वोत्कृष्ट खेलाडी’ योङ्ग ब्वाइज एफसीका बिन्दे घोषित हुँदै रु. ७ हजार ५ सहित Lumbini Barista & Hospitality Training Pvt. Ltd. बाट थप रु. ५ हजार ५ सय ५५ नगद पुरस्कार प्राप्त गरेका थिए । फाइनल खेलको प्रमुख अतिथिका रूपमा सन्तोष कुमार पाण्डेय उपस्थित रहेका थिए । कार्यक्रममा सामाजिक विकास डिभिजन कार्यालय रूपन्देहीका प्रमुख हरिबहादुर विष्ट, वडा नं. २ का अध्यक्ष छेदीलाल श्रीवास्तव, वडा नं. १३ का अध्यक्ष सोम गुरुङ, आमा समूह झण्डीबजार, आमा समूह मेउडीहवा तथा स्थानीय खेलप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेयले आगामी आर्थिक वर्ष २०८३/८४ मा माछापुछ्रे कपका लागि मन्त्रालयमार्फत रु. १५ लाख बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले पक्लिहवा कृषि क्याम्पसको खेलमैदानलाई थप व्यवस्थित बनाउन आवश्यक प्रस्ताव आए प्रदेश सरकारबाट भौतिक पूर्वाधार निर्माणका लागि समेत बजेट व्यवस्थापन गरिने जानकारी दिए । उनले युवाहरूलाई खेलकुदमार्फत अनुशासित, सिर्जनशील र जिम्मेवार बन्न आग्रह गर्दै “युवा भनेको केवल उमेरले मात्र होइन, सोच र सिर्जनाले पनि युवा हुनुपर्छ” भन्ने धारणा राखेका थिए । साथै प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई शुभकामना व्यक्त गर्दै प्रदेश सरकारले खेलकुद क्षेत्रको विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए । फाइनल खेलको मुख्य रेफ्री रुपेन गुरुङ रहेका थिए भने सहायक रेफ्रीको भूमिकामा बबी छन्त्याल, सागर शाही ठकुरी र प्रितम खड्का रहेका थिए ।

खेलकुद, समाचार

पेनाल्टी सुटआउटमा भैरव एफ.सी.लाई हराउँदै देवदह ब्वाइज एफ.सी. फाइनलमा

भैरहवा । माछापुच्छ्रे क्लबको आयोजनामा सञ्चालित ३१औं माछापुछ्रे कप २०८३ अन्तर्गत जेष्ठ ११ गते सम्पन्न दोस्रो सेमिफाइनल खेलमा देवदह ब्वाइज एफ.सी. विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ। सिद्धार्थनगर नगरपालिका–२ स्थित पक्लिहवा कृषि क्याम्पसको खेलमैदानमा भएको अत्यन्त रोमाञ्चक खेलमा देवदह ब्वाइज एफ.सी.ले भैरव एफ.सी.लाई पेनाल्टी सुटआउटमा ३–२ गोलअन्तरले पराजित गर्दै उपाधिनजिकको यात्रा तय गरेको हो। खेलको ११औं मिनेटमा भैरव एफ.सी.का जर्सी नम्बर ४ का आशिष गुरुङले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि २१औं मिनेटमा जर्सी नम्बर ३० का सालिल ढकालले अर्को गोल थपेपछि भैरव एफ.सी. २–० को मजबुत अवस्थामा पुगेको थियो। तर देवदह ब्वाइज एफ.सी.ले उत्कृष्ट पुनरागमन गर्दै खेलमा फर्कियो। पहिलो हाफको ३५औं मिनेटमा जर्सी नम्बर १७ का सुरज चौधरीले गोल गर्दै टोलीलाई खेलमा फर्काउने संकेत दिएका थिए। दोस्रो हाफको २३औं मिनेटमा जर्सी नम्बर ९ का रोशन थापाले बराबरी गोल गरेपछि खेल थप प्रतिस्पर्धात्मक बनेको थियो। निर्धारित समयमा दुवै टोली २–२ गोलको बराबरीमा रोकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टी सुटआउटमा देवदह ब्वाइज एफ.सी.ले उत्कृष्ट प्रदर्शन गर्दै ३–२ गोलअन्तरको जित निकाल्यो। दुवै टोलीबाट ५–५ जना खेलाडीले पेनाल्टी प्रहार गरेका थिए। खेल निकै प्रतिस्पर्धात्मक हुनुका साथै कार्डको वर्षासमेत भएको थियो। देवदह ब्वाइज एफ.सी.का सुरज चौधरी, अनिसेट ईदिक र सुजीत चौधरीले पहेँलो कार्ड पाए भने भैरव एफ.सी.का अभिषेक महतो, सुरज क्षेत्री र आकाश थापाले पनि पहेँलो कार्ड सामना गरे। खेलका क्रममा देवदह ब्वाइज एफ.सी.का सुरज चौधरी तथा भैरव एफ.सी.का सालिल ढकालले रातो कार्डसमेत पाएका थिए। खेलको ‘दैनिक उत्कृष्ट खेलाडी’ भैरव एफ.सी.का गोलरक्षक विशाल केसी घोषित भए। उनले नगद रु. १ हजार ५ सय ५ रुपैयाँसहित पुरस्कार प्राप्त गरे। अब प्रतियोगिताको फाइनल खेल जेष्ठ १२ गते मंगलबार दिउँसो ३ बजे भैरहवा कृषि क्याम्पस, मेउडीहवा खेलमैदानमा हुनेछ। उपाधिका लागि योङ्ग ब्वाइज एफ.सी. र देवदह ब्वाइज एफ.सी.बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। माछापुच्छ्रे क्लब, सिद्धार्थनगर–२ झण्डीबजारद्वारा आयोजित प्रतियोगितामा रूपन्देहीका ६ तथा रूपन्देही बाहिरका २ गरी जम्मा ८ टोलीको सहभागिता रहेको छ। प्रतियोगितालाई लुम्बिनी प्रदेश सरकार तथा सिद्धार्थनगर वडा नं. २ कार्यालयले सहयोग गरेका छन्। खेल सञ्चालन रेफ्रीका रुपमा रुपेन गुरुङ, बबी छन्त्याल, सागर शाही ठकुरी र प्रितम खड्का रहेका छन् ।

खेलकुद, समाचार

पेनाल्टीमा भैरव एफ.सी.को शानदार जित, विज्ञान गुरुङ बने म्यान अफ द म्याच

भैरहवा । माछापुच्छ्रे क्लबको आयोजनामा सञ्चालित ३१औं माछापुछ्रे कप २०८३ अन्तर्गत हिजो जेठ ९ गते सम्पन्न रोमाञ्चक खेलमा भैरव एफ.सी. नवलपरासी विजयी भएको छ । सिद्धार्थनगर नगरपालिका–२ स्थित पक्लिहवा कृषि क्याम्पसको खेलमैदानमा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा भैरव एफ.सी.ले सम्पूर्ण एफ.सी. सुपौलीलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण जित हात पारेको हो । निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टीमार्फत गरिएको थियो । पेनाल्टी सुटआउटमा दुवै टोलीका ५–५ खेलाडी सहभागी भएका थिए । जसमा भैरव एफ.सी.ले ३ गोल गर्न सफल हुँदा सम्पूर्ण एफ.सी. सुपौलीले भने २ गोल मात्र गर्न सक्यो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका भैरव एफ.सी.का जर्सी नम्बर ७७ का खेलाडी विज्ञान गुरुङ दैनिक उत्कृष्ट खेलाडी घोषित भए । उनले नगद १ हजार ५ सय ५ रुपैयाँसहित म्यान अफ द म्याच पुरस्कार प्राप्त गरे । प्रतियोगिता अन्तर्गत आज जेठ १० गते हुने खेलमा योङ्ग ब्वाइज एफ.सी. देवदह र मोन्सटर एफ.सी. सुनवलबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

खेलकुद, समाचार

बिन्देको निर्णायक गोलमा योङ्ग ब्वाइज एफ.सी. विजयी

भैरहवा । माछापुच्छ्रे क्लबको आयोजनामा सञ्चालित ३१औं माछापुछ्रे कप २०८३ अन्तर्गत जेठ ८ गते सम्पन्न भएको रोमाञ्चक फुटबल खेलमा योङ्ग ब्वाइज एफ.सी. विजयी बनेको छ । सिद्धार्थनगर नगरपालिका–२ स्थित पक्लिहवा कृषि क्याम्पसको खेलमैदानमा सम्पन्न खेलमा योङ्ग ब्वाइज एफ.सी.ले लिस्नु एफ.सी.लाई १–० गोल अन्तरले पराजित गरेको हो । खेलको सुरुवातदेखि नै दुवै टोलीले आक्रामक र आकर्षक प्रदर्शन गरेका थिए । दर्शकको उत्साहजनक उपस्थितिबीच भएको खेलको पहिलो हाफको १२औं मिनेटमा योङ्ग ब्वाइज एफ.सी.का जर्सी नं. ३७ का खेलाडी बिन्देले उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । उनले गरेको उक्त गोल नै खेलको निर्णायक गोल बन्न पुग्यो । गोल खाएपछि लिस्नु एफ.सी.ले खेलमा फर्किन लगातार प्रयास गरेको थियो । टोलीले केही अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न नसक्दा बराबरी गर्न असफल रह्यो । उता, योङ्ग ब्वाइज एफ.सी.ले सुदृढ रक्षापंक्ति तथा संयमित खेल प्रदर्शन गर्दै आफ्नो अग्रता जोगाउन सफल भयो । खेलभर दुवै टोलीबीच कडा प्रतिस्पर्धा देखिए पनि अन्ततः बिन्देको एकमात्र गोलले योङ्ग ब्वाइज एफ.सी.लाई महत्वपूर्ण जित दिलायो । जितसँगै टोलीले प्रतियोगितामा थप आत्मविश्वासका साथ आफ्नो यात्रा अघि बढाएको छ । यस खेलको दैनिक उत्कृष्ट खेलाडी पुरस्कार नगद १ हजार ५ सय ५ रुपैयाँ योङ्ग ब्वाइज एफ.सी.का जर्सी नं. ३७ का खेलाडी बिन्देलाई प्रदान गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताअन्तर्गत जेठ ९ गते सम्पूर्ण एफ.सी. सुपौली र भैरव एफ.सी. नवलपरासीबीच प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ । आगामी खेलहरू अझ रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

Scroll to Top