यसै आधारमा व्यक्तिमा सुझबुझ, अर्थ, स्वीकृति, मान्यता, दृष्टिकोण, विवेक, श्रम, क्षमता, इच्छाशक्ति, बाँच्ने शैली, विश्वास, अनुभूति, अनुभव, धारणा, प्रवृत्ति, नेतृत्व, निर्णय, अन्तरक्रिया, व्यवहार र चिन्तनप्रणाली जस्ता जीवनका तमाम आयाम विकास हुन्छन्। जागरण र सचेतना व्यक्तिको गुणसापेक्ष हुने भएकाले जीवन र जगत् सम्बन्धी धारणा सबै मान्छेको समान हुँदैन। यस हिसाबले सबै मनुष्य जागृत (प्रबुद्ध) हुँदैनन्। परिवेशले मनोदशामा जस्तोसुकै प्रभाव छोडे पनि त्यसबाट मुक्त भएर आत्म–अन्तरदृष्टिबाट जीवन जस्तो छ, त्यस्तै भेद गर्न सकिएमा मात्र चेत–चैतन्यको बिम्ब मानव सृष्टि सार्थक हुने ठान्दछु। साहित्य सम्बन्धमा घटनाको प्रत्यक्ष अवलोकनले मस्तिष्कमा गहन प्रभाव पार्दछ। यथार्थमा जस्तो संसार भोग्यो, उस्तै दृष्टि निर्माण हुन्छ। जम्काभेट हुँदा व्यक्तिले विश्वघटनाका विविध आयामलाई कुन गहिराइ र उचाइ, कति आयतन, दायरा र हदसम्म बोध गर्छ; त्यही नै उसको वास्तविक ‘जीवन–विश्व’ हो। साहित्य सौन्दर्य, शृङ्गार र अलङ्कारको खात मात्र होइन। थपमा; यो संसारको ऐतिहासिक पुनरावलोकन र लेखाजोखा, विद्यमान विश्व–चराचरको दर्शन, यथार्थको पूर्वाग्रहरहित चित्रण र तटस्थ उजागर, मौलिक लेखोट वा लेख्य सङ्ग्रह, बोध–अभिव्यक्तिका साथै विज्ञान र मूल्यको संयोजन अनि सम्भाव्य भविष्यको मोटामोटी आकलन र सुनिश्चित जीवन रूपान्तरणको मार्गचित्र पनि हो। साथै, यो ठोस अनुभव, अनुभूति, वेदना, संवेदना, भावना, कल्पना, सन्देह, मनोदशा, मूल्य, धारणा र ज्ञान आदिको बिम्ब हो। कथा, कविता, गीत, नाटक, अभिनय, निबन्ध, उपन्यास, मनोवाद जस्ता आयामलगायत लेख, दस्तावेज र अनुसन्धानबाट प्राप्त तथ्य–विश्लेषण एवं संश्लेषणको निचोड नै साहित्य र आख्यानका रूप–स्थिति हुन्। साहित्यिक आकाश विस्तारित छ। परन्तु, वैज्ञानिक बोधको दर्पण बन्नुपर्नेमा प्रगतिशील र अप्रगतिशीललगायत अनेक कित्तामा साहित्य विभक्त छ। मेरो बुझाइमा, यसरी विभक्त गर्नु सिर्जनामाथिको वक्रदृष्टि र बेइमानी हो। स्रष्टा विचारनिर्माता, सूचना संवाहक र सचेतन सम्प्रेषक हो; तथ्यबाट सत्य बोध गराउने ऐना हो। स्रष्टाले दासता नस्वीकारी स्वतन्त्र भएर सार्वजनिक मञ्चमा खडा हुनुपर्छ। यस अर्थमा आख्यानकारको जीवन चुनौतीपूर्ण हुन्छ। परन्तु, जोखिम मोलेरै भए पनि तथ्य पर्गेल्ने साहित्य आजको आवश्यकता हो। विषय प्रवेश योगवासिष्ठको वैराग्य प्रकरणअनुसार– वैराग्य नभएका हृदयमा दर्शनका मर्मभाव प्रविष्ट गर्न कठिन हुन्छ। मान्छेको सिर्जना–सामर्थ्य पनि वैराग्यपनबाटै प्राप्त हुन्छ। परिस्थितिजन्य सङ्कटको यथानुभव गराउन सक्ने आख्यान त झनै कठोर साधनाबाट मात्र जन्मन्छ। भौतिक रूपमा गुमनाम हुँदा मान्छेका अनुभव, ज्ञान, सामर्थ्य र संस्कृति सबै ओझेलमा पर्न सक्छन्। कतिपय मान्छे ‘नचिनिने गरी उड्ने वस्तु’ (यूएफओ) जस्तै बेलगाम उडिरहेका हुन्छन्। यस्तो वायुपङ्खी बेगयात्रामा अचानक व्यवधान तेर्सियो भने त्यसले उसभित्र कस्तो मानसिक व्याकुलता पैदा गर्ला ? खास समय–स्थान परिवेश, आफू, अरू पात्र–कर्ता, घटना–परिघटना र प्रवृत्तिबारे कहीँकतैबाट बोध गरिएन भने त्यस तथ्यलाई मानसपटलमा उतारेर (दृश्यीकरण गर्दै) एक्लै एकान्तमा ऐनामा आफ्नै अनुहार हेर्दै, आँसु झार्दै भक्कानिएर रुन र मन चङ्गा हुने गरी खित्का छाडेर हाँस्न सक्ने कल्पनाशक्तिका धनकुबेर मात्र उम्दा आख्यानकार बन्छन्। साहित्य यस्तै रुने, हाँस्ने, उड्ने मन र वैराग्यता पैदा गर्ने सिर्जनाको साधन हो। ‘खुशीको गाउँ’ ले पनि धेरैलाई वैरागी बनाउनेछ, उडाउनेछ, रुवाउनेछ र हँसाउनेछ भन्ने मलाई लाग्छ। जीवन रूपान्तरणको निमित्त लेखिसकिएको विषयमा पुनःलेखन गर्नुको कुनै अर्थ हुँदैन। लेखिएको विषयमा बारम्बार लेखिरहेको नाटक गर्नु समयको बर्बादी र पाठकलाई मूर्ख बनाउने चेष्टा गर्नु मात्र हो। अभि सुवेदी (२०७६) का अनुसार– यहाँ साहित्य नलेखिएको र मौन छ। यद्यपि, मौनताले पनि खतरनाक अर्थ बोलिरहेको हुन्छ। आजको दुनियाँमा यथार्थ लेख्नु खतरा मोल्नु हो। नलेखिएको विषय र बोल्न नसक्नेको निम्ति चुनौतीपूर्ण किसिमले लेख्नु सर्जकको दायित्व हो। शरणार्थी र बस्तीबीचको चुनौतीपूर्ण प्रेमिल कथानकले भरिएको ‘खुशीको गाउँ’ नलेखिएका मान्छेको मौनता भङ्ग गर्न लेख्नैपर्ने विषयमा कलात्मक ढङ्गले लेखिएको आख्यान ठान्दछु। डुब्ने ‘कर्ता’ र देख्ने ‘द्रष्टा’ दुवै दृष्टिको सन्तुलित र संयोजित प्रस्तुति अब्बल आख्यानको चरित्र हो। प्रेमलाई केन्द्रीय तत्त्व मान्ने परम्परा भएकोले होला सायद, सर्जकले प्रेमसम्बन्धको आवरणमा शरणार्थी र गाउँले दृष्टि एवं तिनको जीवनकथालाई मार्मिक र करुण शैलीमा पटाक्षेप गर्नुभएको छ। विविध असहजताका कारण मान्छेका मनमा खाँदिएका असीम पीडा, दर्द, चिन्ता, कुण्ठा र रोदन दबाएर आवरणमा बाँच्न सक्ने जीवनको अनावरण गर्न सक्ने आख्यानकारको मनोदशा र सामर्थ्य क्या गज्जब लाग्यो ! रहस्यमा रहेका जीवन र यावत् वास्तविकताको सुबोध्य शैलीमा अनावृत ‘खुशीको गाउँ’ पुस्तक पुनरावलोकन गर्ने अवसर पाएकोमा खुसी लागेको छ। आख्यानका विविध पक्ष–पक्षान्तरबारे मेरा दृष्टिकोण र धारणालाई यहाँ सङ्क्षिप्त रूपमा उल्लेख गरेको छु। शरणार्थी जीवन आख्यानमा– स्वतन्त्रताका लागि आवाज उठाउँदा जिब्रो थुतिएका; आफ्नै माटोमा गरिखाउँ भन्दा सर्वस्व लुटिएका; नेपालीपनकै भेषभूषा, भाषा र धर्म–संस्कृतिमा दरिएका कारण सर्वस्वहरणमा परेका; आफ्नो जिन्दगी र भविष्य नै अनिश्चित भएका; शरण परेर बाँच्नका लागि प्राणको याचना गर्दा समेत मृत्युवरण गर्न बाध्य भएका; दातृसंस्थाले दिएको सातुको भरमा प्राण धानेका; पुस्तौंदेखि रगत–पसिना बगाएको माटो र पहिचान खोसिएर ‘विकलाङ्ग’ बनेको शिविरको मनोदशा पढ्दा मन कटक्क खायो। साथै, बाहिरबाट अर्काको भूमिमा प्रवेश गरेका भोटेहरू कसरी शासक बने? आफ्नो थातथलोमा आफैं शासित बन्नुपर्ने अवस्था कसरी पैदा भयो? के यसको कारण नेतृत्व नै हो? सर्जकले ज्यादै पेचिला प्रश्न उठाउनुभएको छ। पारस्परिक अन्तरसम्बन्ध सर्जकले शिविरको जीवन–अवस्था र रैथानेबीचको न्यानो सम्बन्ध उजागर गर्नुका साथै परिवेशले जुराएको जम्काभेटबाट राधिका र राजेन्द्रबीच मौलाएको प्रेमकथाले आख्यानलाई थप रोचक बनाएको छ। अर्को रोचक पक्ष, उल्टै शरणार्थी पो बस्तीको दाता बनेको कुराले म छक्क परें। यसरी प्रेमको आवरणमा गाउँले बस्ती र शरणार्थीबीचको आत्मीय र परस्पर सम्बन्धको पाटोलाई समेत सूक्ष्म ढङ्गले अनावरण गर्न सक्नु सर्जकको उत्कृष्ट कला हो। प्रेमिल मनोवाद प्रेम सृष्टिको सुन्दरतम सिर्जना हो। प्रेम मीठो अनुभूति हो। प्रेमको रङ, आकार, आयतन र गन्ध केही हुँदैन। प्रेमलाई जात, रङ, भाषा, लिङ्ग, उमेर र भौगोलिक सीमाले प्रभाव पार्दैन। हरेक व्यक्तिले देखेको, सुनेको र भोगेको आधारमा आ–आफ्नो परिभाषा दिए तापनि प्रेमको सर्वमान्य परिभाषा स्थापित छैन। तसर्थ, निस्वार्थ भावले एकअर्कालाई बुझ्नु र महसुस गर्नु नै प्रेम ठान्छु। तर आज प्रेम ‘आइ लभ यू’ शब्दमा सीमित छ। ‘जेन–जी’ नामित पुस्ताको ‘फेसबुकिया’ प्रेमको ‘प्रलाप’ त झनै उराठ र उदेकलाग्दो प्रतीत हुन्छ। प्रेमको सही अर्थ र मूल्य पर्गेल्दै प्रेमसँग गाँसिएको मन र मस्तिष्कबीचको अन्तरद्वन्द्व झल्काउने आख्यानकारको रङ्गीन मनोवाद पनि कम चाखलाग्दो छैन। प्रेमलाई प्रेरणादायी शक्तिश्रोत ठान्दै सर्जक भन्नुहुन्छ: “आफ्नै जीवनसँग प्रेम नहुनेको अर्कासँग झन् के होला? समयसँगै बदलिँदै जाने तर आफू बन्नै नदिने बाह्य परिवेशसँग कसैको केही नलाग्दो रहेछ। प्रकृतिले प्रेम गर्ने मन दिएको छ तर दुनियाँले प्रेम गर्ने छुट दिँदैन। भावनाको थोरै ताप पर्नासाथ पग्लिने प्रेमिल मन र साँचो प्रेममाथि बन्देज लगाएको छ समाजले। प्रेमविहीन पारेर कैयौं जिन्दगीलाई मरुभूमि (रेगिस्तान) बनाइदिएको छ। अब कसलाई सुम्पिने विश्वासको थैलो? कठै! ‘रमाइलो’ भन्ने पनि मनमा पीर नहुँदा मात्र हुने रहेछ। मनभरि ‘चोट’ र ‘पीर’ परेपछि दशैं, तिहार, चाडपर्व पनि खल्लो र निरर्थक लाग्दो रहेछ। प्रेमिल मन र भोक यस्तो अचम्मको हुने रहेछ कि, कैयौं रात भोकै सुते पनि मन बेखुसी छ भने भोक लागेको पत्तै नहुने रहेछ। मन खुसी हुँदा भोक लाग्ने, नहुँदा नखाँदा पनि हुने ! कस्तो हो यो मन र भोक !” यही कारण कैयौं मान्छे सबै कुरा त्यागेर प्रेमीसँगै बाँच्ने आँट गर्दा रहेछन्। प्रेम मनसँग सम्बन्धित छ; दिमाग