देशका राजनीतिक, संवैधानिक, औद्योगिक र सामाजिक संरचनाजस्तै मिडिया क्षेत्रमा पनि गहिरो समीक्षा, आत्मसमीक्षा र परिमार्जनको आवश्यकता छ । ‘मिस्इन्फर्मेसन’ र ‘डिस्इन्फर्मेसन’ को बाढीले विश्वसनीय, जिम्मेवार र जवाफदेही पत्रकारिताको संवेदनशील भूमिका झन् धेरै आवश्यक छ । यही सन्दर्भमा आलोचना, समालोचना, समीक्षा, सुझावलाई विशेष स्थान दिन कान्तिपुरले बहस–शृंखला आरम्भ गरेको छ । हामी वस्तुनिष्ठ र जिम्मेवार बहसमा सरोकारवाला तथा विज्ञहरूको सहभागिताका लागि प्रतीक्षारत छौं ।

लोचनामुक्त पेसा होइन— पत्रकारिता । यद्यपि, जसरी पत्रकारिता आलोच्य बन्दै छ, त्यो सामान्य छैन । र, यसको कारण पत्ता नलगाई सम्बोधन खोज्न पनि सकिँदैन ।
राज्यका गतिविधिबारे प्रश्न गर्ने पत्रकारितामाथि नै किन प्रश्न उठिरहेको छ ? कतै पत्रकारिताले सत्ता र शासनमा रहेकामाथि प्रश्न उठाउन बिर्संदै गएकाले पत्रकार र प्रेसमाथि प्रश्न उठिरहेको त होइन ? म यहाँ पत्रकारिताप्रति बढ्दो सार्वजनिक आलोचना, त्यसका अर्थ–राजनीतिक आयाम र आलोचना न्यूनीकरणका सम्भावित कदमबारे विमर्श गर्नेछु ।
लोकतन्त्रमा कुनै पनि व्यक्ति, संस्था वा पेसा प्रश्नभन्दा माथि हुँदैन । त्यस्तो अवस्था छ भने त्यहाँ लोकतन्त्र हुँदैन । पत्रकारितालाई लोकतन्त्रको स्तम्भ अर्थात् राज्यको चौथो अंगका रूपमा लिइन्छ । राज्यका अन्य अंगहरूका गतिविधिमाथि प्रश्न उठाउने तथा सत्ता र शक्तिमा भएकालाई जवाफदेही बनाउन भूमिका खेल्ने भएकाले पत्रकारितालाई यो इज्जत दिइएको हो ।
