सिरहा र धनुषा जोड्ने कमला पुलको काम धीमा गतिमा, झापाको कन्काई पुलको प्रगति ५६ प्रतिशत मात्र, काम नभएपछि ठेक्का तोड्ने आयोजना कार्यालयको तयारी | काठमाडौँ — हुलाकी राजमार्गअन्तर्गत १४ वर्षअघि ठेक्का भएका दुई ठूला पक्की पुलको निर्माण अझै सकिएको छैन । झापाको कन्काई पुलको ठेक्का सम्झौता १४ वर्षअघि अर्थात् २९ जेठ २०६८ मा भएको थियो । यस पुलको प्रगति अहिलेसम्म ५६ प्रतिशत मात्र छ । पुलको ठेक्का पप्पु–महादेव खिम्ती जेभीले ३४ करोड ९ लाख रुपैयाँमा लिएका हुन् ।

महादेव खिम्ती नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको कम्पनी हो । पहिला ७ सय २५ मिटर लामो यो पुलको काम सुरुमा पप्पु कन्स्ट्रक्सनले गरेको थियो । उक्त कम्पनीका मुख्य व्यक्ति हुन्, पूर्वसांसद हरिनारायण रौनियार । पुल र सडकको ठेक्का लिएर समयमै काम नसकेपछि यस कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । उसले नयाँ ठेक्का लिन पाउँदैन । यही कम्पनीले जेभीमा लिएको अर्को ठेक्का हो, बलान–कमला सडकअन्तर्गत सिरहा–धनुषा जोड्ने कमला नदी पुल ।
यसको ठेक्का सम्झौता ३१ जेठ २०६८ मा भएको हो । सुरु सम्झौताअनुसार ३० मंसिर २०७१ मा काम सकिसक्नुपर्ने हो । ३० चैत २०८२ सम्म काम सक्ने गरी समयसीमा तोकिएको छ । उक्त समयभित्र काम नसकिए ठेक्का तोडिने सडक विभागले जनाएको छ । अहिलेसम्म निर्माण प्रगति भने ८३ प्रतिशत मात्र छ । यसको ठेक्का रकम २४ करोड ९० लाख रुपैयाँ छ । अहिलेसम्म २० करोड ४२ लाख रुपैयाँ भुक्तानी भइसकेको छ । ठेक्का डिजाइन एन्ड बिल्डअन्तर्गत भएकाले ठेक्का लिने कम्पनीले नै डिजाइन गरेर यसको निर्माण गर्नुपर्छ । ठेक्का लिने कम्पनी पप्पु–लुम्बिनी जेभी हो ।
पुलको निर्माण सकिएर हस्तान्तरण गर्ने बेला १७ असार २०७८ मा आएको बाढीले पुलको दुई जग भासिएको थियो । त्यस्तै ४ वटा स्ल्याबमा क्षति भएको सडक विभागले जनाएको छ । सडक विभागका महानिर्देशक, निर्माण व्यवसायी र विज्ञसँगको उपस्थितिमा छलफल भई पुल पुनर्निर्माणका लागि डिजाइन र ड्रइङ स्वीकृत गराई निर्माणको काम अघि बढाइएको हो । त्यसो त निर्माण अघि बढाउन हुलाकी निर्देशनालयले व्यवसायीलाई पटक–पटक पत्राचार र ताकेता गरेको थियो । १२ वटा स्पान रहेको पुलको लम्बाइ ४ सय ९६.२ मिटर छ ।
