![]()
भारतीय दूतावासले शुक्रबार काठमाडौँमा गरेको एआईसम्बन्धी कार्यक्रममा अधिकारीहरूले डिजिटल सार्वजनिक पूर्वाधार (डीपीआई) र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता क्षेत्रमा सहकार्य बढाउने प्रतिबद्धता पनि व्यक्त गरे ।
काठमाडौँ — नेपाल र भारतका उच्च अधिकारीहरूले दुई देशबीच रहेको ऐतिहासिक, सांस्कृतिक र जनता–जनताबीचको सम्बन्ध विस्तार गर्दै अब डिजिटल डोमेनमा पनि सहकार्य अघि बढाउनुपर्नेमा जोड दिएका छन् । काठमाडौंमा शुक्रबार भारतीय दूतावासले आयोजना गरेको एआईसम्बन्धी कार्यक्रममा अधिकारीहरूले डिजिटल सार्वजनिक पूर्वाधार (डीपीआई) र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता क्षेत्रमा सहकार्य बढाउने प्रतिबद्धता पनि व्यक्त गरे ।

भारत र नेपालको समाज, संस्कृति, परम्परा र बलियो सम्बन्धका कारण डिजिटल डोमेनमा सहकार्य गर्नु अत्यन्त स्वाभाविक हुने नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको धारणा छ । डिजिटल सहयोगको बृहत्तर डोमेनमा सरकार र संस्थाहरूलाई सहकार्य गर्न अनुमति दिने गरी सरकारीस्तरमा एउटा समझदारीपत्र (एमओयू) गर्न सकिने उनको भनाइ छ ।
‘भारतमा सफल भएका एआई मोडलहरू विकासोन्मुख देश र विशेष गरी नेपालमा प्रयोग गर्न सकिन्छ र भारतले ‘छिमेक पहिलो’ नीतिअन्तर्गत नेपालसँग काम गर्न खोजिरहेको छ,’ उनले भने, ‘भारतले पछिल्लो तीन वर्षदेखि नेपाल र भारतबीच सहकार्यका लागि प्लाटफर्म सिर्जना गर्ने प्रयास गरिरहेको छ ।’ भारतको युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) नेपालमा उपलब्ध गराएपछि भारतीय पर्यटकको संख्या बढेको उनको दाबी छ ।