![]()
सुशीला कार्की नेतृत्वको सरकारको सफलता वा असफलता र औचित्य जाँच्ने मूल कसी हो– २१ फागुनको निर्वाचन । त्यस्तो निर्वाचन प्राविधिक ढंगको होइन, आमसहभागिताबाट सम्पन्न भएको हुनुपर्छ । शान्तिपूर्ण र निष्पक्ष मतदान भएको हुनुपर्छ । तर २३ र २४ भदौमा जेन–जी आन्दोलनपछि राजनीतिक यथार्थ त फेरिएको छ नै, शान्तिसुरक्षाका विषय निकै संवेदनशील बनेको छ ।

२३ गते आन्दोलनकारी जेन–जीमाथि जुन ढंगले दमन भयो, त्यस क्रममा मानवीय क्षति त भयो नै, तत्कालीन सत्ताधारीप्रति मानिसमा आक्रोश यथावत् छर । अर्कोतर्फ, २४ गतेको प्रदर्शनका क्रममा भएका तोडफोड, लुटपाट र आगजनीका कारण मानिसमा असुरक्षा महसुस भएको छ । फेरि त्यस्तै होला कि भन्ने संशय पैदा भएको छ ।
राजनीतिक उथलपुथललाई हेर्ने दृष्टिकोणमा पनि फरकफरक मत छन् । यी सबै पृष्ठभूमिले समाजमा जुनसुकै बेला तनाव र द्वन्द्व सिर्जना हुन सक्छ । त्यसको एउटा झलक बुधबार सिमरामा देखिएको छ । त्यहाँ जेन–जी र एमाले कार्यकर्ताबीच भएको झडपले शान्तिपूर्ण निर्वाचनप्रति नै संशय बढाएको छ । जसले निर्वाचनको वातावरण बनाउन धेरै मिहिनेत गर्नुपर्ने आवश्यकता दर्शाउँछ ।
एमाले महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेत काठमाडौंबाट बुधबार सिमराका लागि उड्ने थाहा पाएपछि जेन–जी जिल्ला संयोजक सम्राट उपाध्यायले सिमराको प्रदर्शनमा सहभागी हुन मंगलबार फेसबुकमा अपिल गरेका थिए । अपिलअनुसार जेन–जी सिमरा चोकमा भेला भएका थिए । नेताहरूलाई स्वागत गर्न गएका एमालेका कार्यकर्ता र जेन–जी प्रदर्शनकारीबीच झडप भएको थियो । त्यसबाट जेन–जी संयोजक उपाध्यायलगायत घाइते भएका थिए ।