![]()
कमाण्डका संयोजक तोकिएका पुष्पराज श्रेष्ठविरुद्ध २०६५ देखि २०७५ सम्म ७ मुद्दा दर्ता भएको प्रहरी अभिलेख रहेको छ।
काठमाडौँ — एमालेको ‘नेसनल भोलिन्टियर फोर्स’ का केन्द्रीय कमान्ड प्रमुख पुष्पराज श्रेष्ठ फौजदारी मुद्दाका पटके अभियुक्त भएको खुलेको छ । प्रहरीको ‘क्रिमिनल रेकर्ड सिस्टम’ (सीआरएस) अनुसार उनीविरुद्ध २०६५ देखि २०७५ सम्म ७ वटा मुद्दा दर्ता भएका छन् ।

पछिल्लो पटक भदौ २०७५ मा उनी अपहरण तथा शरीर बन्धकमा संलग्न भएको आरोपमा पक्राउ परेका थिए । ओखलढुंगाको सिद्धिचरण–४ घर भई काठमाडौंको धुम्बाराही बस्दै आएका रामबहादुर कटुवालले आफूलाई धम्की दिएको भन्दै उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको थियो ।
उनीमाथि ४ पुस २०७३ मा गणेशकुमार कुँवरलाई बन्धक बनाएर रकम लुटपाट गरेको अभियोगमा समेत अनुसन्धान भएको थियो । कुँवरलाई डेरामा लगेर जबर्जस्ती ११ लाख रुपैयाँ बराबरको चेकसमेत काट्न लगाएको पाइएको थियो । त्यसबेला उनी माओवादीनिकट योङ कम्युनिस्ट लिग (वाईसीएल) को सिन्धुली जिल्ला अध्यक्ष थिए । माओवादी र एमाले मिलेर नेकपा बनेयता उनी एमालेमै रहे ।