नेपाल अहिले तीव्र रूपान्तरणको मोडमा उभिएको छ । एकातिर पुराना राजनीतिक संस्कार छ । अर्कोतिर, उदाउँदै गरेको डिजिटल पुस्ता छ । दुवैका बीचमा देशको सामाजिक र आर्थिक यथार्थ छ । २३ भदौमा देशभर देखिएको आन्दोलन र २४ भदौमा देखिएको विध्वंस केवल दुई दिनका घटना मात्र थिएनन् ।

यी घटनाले नेपालको राजनीतिक मानसिकताको अन्तस्करणमा रहेका असन्तोष, आकांक्षा र अनिश्चिततालाई एकैसाथ सतहमा ल्याइदिएका थिए । विशेषतः जेन–जीको भूमिका, आक्रोश, आकांक्षालगायतका पक्षलाई बुझ्नु अहिले अनिवार्य बनेको छ ।
जेन–जीको राजनीतिक मनोविज्ञान
जेन–जीको चेतना डिजिटल गतिमा चल्छ । उनीहरूले सूचना छिटो पाउँछन्, तत्काल मूल्यांकन गर्छन् र यथास्थितिलाई प्रश्न गर्छन् । यो प्रवृत्ति अघिल्ला पुस्ताभन्दा धेरै तीक्ष्ण हुन्छ । उनीहरू भाषणभन्दा नतिजालाई प्राथमिकता दिन्छन् । परम्परावादी आश्वासनभन्दा संरचनागत सुधारको खोजी गर्छन् । दलगत निष्ठाभन्दा करिअर, अवसर, जीवनस्तर र पारदर्शितामा आधारित मूल्य प्रणाली बनाउँछन् ।
