राष्ट्रियसभा उम्मेदवार मनोनयनका लागि निर्वाचन आयोगमा सभापति देउवा कि कार्यवाहक सभापति खड्काको नाम पठाउने भन्ने विषय समेत पछिल्लोपटक पेचिलो बन्दै छ ।सभापति शेरबहादुर देउवा पुस मसान्तभित्रको नियमित महाधिवेशनका लागि ‘सर्त’ सहित तयार भएका छन् । पुस मसान्तभित्र नियमित महाधिवेशनको कार्यतालिका ल्याउने तर असोज २९ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर विशेष महाधिवेशन माग गरिएको निवेदन फिर्ता लिनुपर्ने सर्त अघि सारेका छन् ।
विशेष महाधिवेशन पक्षधरले भने नियमित महाधिवेशन गरेमा स्वतः विशेष महाधिवेशनको माग निस्तेज हुने भन्दै फिर्ता लिन मानिरहेका छैनन् । संस्थापन पक्षले महाधिवेशन गर्ने नियत नभई तालिका मात्रै ल्याएर पन्छाउन खोजेको भन्दै विशेष महाधिवशन पक्षधरहरुले निवेदन फिर्ता गर्ने ससर्त अस्वीकार गर्दै आएका हुन् । यसैमा सहमति नहुँदा बैठक सुरु हुन ढिलाइ भइरहेको छ ।
पार्टीका अर्का एक पदाधिकारीका अनुसार सहमति नभए पनि राष्ट्रियसभा निर्वाचनका लागि दल दर्तासम्बन्धी निर्णय लिनका लागि एकछिन भए पनि बैठक सुरु हुने बताए । राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्ने अन्तिम समय मंसिर ७ गते आइतबारसम्मका लागि राखिएको छ ।
