भैरहवा ।
माछापुच्छ्रे क्लबको आयोजनामा सञ्चालित ३१औं माछापुछ्रे कप २०८३ अन्तर्गत जेष्ठ ११ गते सम्पन्न दोस्रो सेमिफाइनल खेलमा देवदह ब्वाइज एफ.सी. विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ। सिद्धार्थनगर नगरपालिका–२ स्थित पक्लिहवा कृषि क्याम्पसको खेलमैदानमा भएको अत्यन्त रोमाञ्चक खेलमा देवदह ब्वाइज एफ.सी.ले भैरव एफ.सी.लाई पेनाल्टी सुटआउटमा ३–२ गोलअन्तरले पराजित गर्दै उपाधिनजिकको यात्रा तय गरेको हो।
खेलको ११औं मिनेटमा भैरव एफ.सी.का जर्सी नम्बर ४ का आशिष गुरुङले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि २१औं मिनेटमा जर्सी नम्बर ३० का सालिल ढकालले अर्को गोल थपेपछि भैरव एफ.सी. २–० को मजबुत अवस्थामा पुगेको थियो।
तर देवदह ब्वाइज एफ.सी.ले उत्कृष्ट पुनरागमन गर्दै खेलमा फर्कियो। पहिलो हाफको ३५औं मिनेटमा जर्सी नम्बर १७ का सुरज चौधरीले गोल गर्दै टोलीलाई खेलमा फर्काउने संकेत दिएका थिए। दोस्रो हाफको २३औं मिनेटमा जर्सी नम्बर ९ का रोशन थापाले बराबरी गोल गरेपछि खेल थप प्रतिस्पर्धात्मक बनेको थियो। निर्धारित समयमा दुवै टोली २–२ गोलको बराबरीमा रोकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।
पेनाल्टी सुटआउटमा देवदह ब्वाइज एफ.सी.ले उत्कृष्ट प्रदर्शन गर्दै ३–२ गोलअन्तरको जित निकाल्यो। दुवै टोलीबाट ५–५ जना खेलाडीले पेनाल्टी प्रहार गरेका थिए।
खेल निकै प्रतिस्पर्धात्मक हुनुका साथै कार्डको वर्षासमेत भएको थियो। देवदह ब्वाइज एफ.सी.का सुरज चौधरी, अनिसेट ईदिक र सुजीत चौधरीले पहेँलो कार्ड पाए भने भैरव एफ.सी.का अभिषेक महतो, सुरज क्षेत्री र आकाश थापाले पनि पहेँलो कार्ड सामना गरे। खेलका क्रममा देवदह ब्वाइज एफ.सी.का सुरज चौधरी तथा भैरव एफ.सी.का सालिल ढकालले रातो कार्डसमेत पाएका थिए।
खेलको ‘दैनिक उत्कृष्ट खेलाडी’ भैरव एफ.सी.का गोलरक्षक विशाल केसी घोषित भए। उनले नगद रु. १ हजार ५ सय ५ रुपैयाँसहित पुरस्कार प्राप्त गरे।
अब प्रतियोगिताको फाइनल खेल जेष्ठ १२ गते मंगलबार दिउँसो ३ बजे भैरहवा कृषि क्याम्पस, मेउडीहवा खेलमैदानमा हुनेछ। उपाधिका लागि योङ्ग ब्वाइज एफ.सी. र देवदह ब्वाइज एफ.सी.बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।
माछापुच्छ्रे क्लब, सिद्धार्थनगर–२ झण्डीबजारद्वारा आयोजित प्रतियोगितामा रूपन्देहीका ६ तथा रूपन्देही बाहिरका २ गरी जम्मा ८ टोलीको सहभागिता रहेको छ। प्रतियोगितालाई लुम्बिनी प्रदेश सरकार तथा सिद्धार्थनगर वडा नं. २ कार्यालयले सहयोग गरेका छन्। खेल सञ्चालन रेफ्रीका रुपमा रुपेन गुरुङ, बबी छन्त्याल, सागर शाही ठकुरी र प्रितम खड्का रहेका छन् ।
